रविको पार्टीबाट रास्वपाको छुट्टै अस्तित्व खडा गर्न महामन्त्री ढकालको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले सय दिनमा पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । 

जारी केन्द्रीय समिति बैठकमा आफूलाई प्रस्तुत गर्न नदिएको प्रस्तावमा उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने ? भन्ने सय दिने प्रस्ताव पेस गरेका हुन् । त्यसका लागि दुई हप्ता तयारी गर्ने र त्यसपछि सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमै जानुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले गुप्तवासका क्रममा महामन्त्रीको राय राख्ने भन्दै निर्णय गर्ने अधिकार भने केन्द्रीय सदस्यहरूमा रहने बताएका छन् । “पार्टीको विधानको पालना कसले गराउने ? पार्टीको विधान पालना नभए के गर्ने ? पार्टीको संगठनात्मक ढाँचा कस्तो हुने ? पार्टीको तर्फबाट हने निर्वाचनका लागि उमेदवार छनोट कसरी गर्ने ?,” लगायत विषयमा छलफल गुप्तवासमा हुनुपर्ने धारणा उनको छ ।

उनले सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै २०८९ को चुनावसम्म कुनै पनि लाभको पद अर्थात् सांसद, मन्त्री वा कुनै पनि प्रकारको सरकारी लाभमा नबस्ने घोषणा पनि गरेका छन् ।