कतारमा कार्यरत नेपालीलाई ‘केएमसी’मा उपचार गर्दा ५० प्रतिशत छुटको व्यवस्था

काठमाडौँ । सङ्घीय सांसद डा. सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उहाँहरुका आश्रित परिवारका सदस्य बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सहुलियतमा उपचार दिने व्यवस्था मिलाएका छन्।

कतारस्थित नेपाली राजदूतावासमा आज भएको कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच त्यहाँस्थित नेपाली राजदूत डा नरेशविक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो। 

सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा काम गर्दै आएका नेपाली श्रमिक उपचार गर्न केएमसी आउँदा ५० प्रतिशत छुट दिइने छ। 

“कतार भ्रमणको सिलसिलामा त्यहाँ रहेका गैरआवासीय नेपाली तथा कतारमै काम गर्दै आएका नेपाली नागरिकसँगको छलफलमा नेपाली कामदारको अवस्था, यहाँ बस्दा रहँदा आइपर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यको उपचारलाई सहज बनाउन सहमति गरिएको हो”, सांसद डा शर्माले भने।

सम्झौतापत्रमा उल्लेखित सुविधा आगामी असार मसान्तसम्म कायम रहनेछ । कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवारलाई केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने छ। यसका लागि परिचयपत्र र नाता प्रमाणित हुने कागजात आवश्यक पर्ने उक्त सम्झौतामा उल्लेख छ।