दार्चुला र बझाङमा यार्सा टिप्न गएका ६ जना हिमपहिरोमा बेपत्ता, अन्य क्षेत्रमा कति ? 

काठमाण्डौँ - दार्चुला र बझाङमा यार्सा टिप्न गएका ६ जना हिमपहिरोमा बेपत्ता भएका छन् । दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिङमा पाँच र बझाङको सुर्मा गाउँपालिकास्थित पार्थी हिमाल क्षेत्रमा एक बेपत्ता भएका हुन् ।

दार्चुलाको बोलिङमा बेपत्ता भएकाकै टिममा रहेका सातजनाले भने भागेर ज्यान जोगाएका छन् । सोही क्षेत्रमा पुगेका अर्को टोलीका १४ जना पनि ओडारमा लुकेर जोगिएका छन् । सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म छाङरुका डिएसपी ईश्वरीदत्त भट्टका अनुसार मंगलबार अपराह्न पौने ३ बजेतिर हिमपहिरो गएको थियो । यार्सा टिप्न गएकाहरू त्रिपाल टाँगेर बसेको अवस्थामा हिमपहिरो खसेको उनले बताए । 

प्रहरीका अनुसार बेपत्ता भएकाहरू डोटीको जोरायल गाउँपालिका बुडरका नोक्माडोमा थापा, ईश्वरी थापा र क्षिमी सोमो थापा तथा दार्चुला दुहु गाउँपालिका– ४ फोक्सेका कमला कुँवर र प्रवीण कुँवर छन् ।