लाइफलाइन सकडको बिजोग-१८ घण्टापछि धार्केमा एकतर्फी यातायात सञ्चालन

धादिङ - पृथ्वी राजमार्गको धार्केमा १८ घण्टादेखि बन्द भएको यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । धुनिबेंसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएपछि सोमबार अपरान्ह ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।

भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले लगातार १८ घण्टा काम गरेपछि अस्थाइ रूपमा सडक सञ्चालन गर्न सकिने अवथामा आएको थियो ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सबारी जाम हटाउन कठिनाइ भएको थियो । पूर्व पश्चिमका जिल्लाबाट रातीको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले जोगिमारा, मलेखु, घाटबेंसी, आदमघाट लगायतका प्रहरी चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको थियो । राजमार्ग एकतर्फी सञ्चालन आए पनि मंगलबार अबेरसम्म पनि राजमार्गको जाम हटेको छैन । नागढुंगा नौबिसे क्षेत्रमा समेत सवारी साधनको जाम लागेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।