कालीबहादुर खामको मुद्दाको सर्वोच्चबाट सक्कल मिसिल झिकाउन आदेश

 चितवन - व्यापारी हत्या अभियोगमा पक्राउ परेका माओवादीका पूर्व कमाण्डर कालीबहादुर खामसँग सम्बन्धित सक्कल मिसिल सर्वोच्च अदालतबाट झिकाउन चितवन जिल्ला अदालतले आदेश गरेको छ ।

न्यायाधीश दयाराम ढकालले मुद्दाको मिसिल सर्वोच्चबाट झिकाउन आदेश दिएका हुन् । मंगलबार काठमाडौँबाट पक्राउ परेका खामलाई बुधबार चितवन पुर्‍याएर मुद्दा दायर भएको अदालतमा पेश गरेको थियो । व्यापारी रामहरी श्रेष्ठको हत्या आरोप लागेका खाम १६ वर्षदेखि राजनीतिक प्रभावका कारण पक्राउ पर्न सकेका थिएनन् ।

व्यापारी श्रेष्ठको हत्यामा मुछिएका अर्का प्रतिवादी गोविन्दबहादुर बटालाको मुद्दा पुनरावेदनका क्रममा सर्वोच्च पुगेकाले त्यसलाई झिकाउन आदेश दिएको हो । प्रतिवादी खाम पक्राउ नपर्दा उनीविरुद्धको कर्तव्य ज्यान मुद्दा मुल्तवीमा थियो । उनी पक्राउ परेसँगै मुद्दा ब्युतिएको हो ।