शालीनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण बलात्कार देखिएन, झुन्ड्याइएको समाचार गलत !

काठमाडौँ - चितवनको रत्ननगर १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा शालीन पोखरेल मृत्यु घटनामा बलात्कार नभएको पोस्टमार्टम रिर्पोट आएको छ । शालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको भन्ने परिवारको दाबीपछि घटना झनै गम्भीर बनेको थियो ।

यसबारे अनेकन शंका र आशंका पनि उब्जिन सुरु भइरहँदा त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बताएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको थियो । यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो । गत १२ फागुनमा विद्यालयको छात्रावासको कोठामा शालीन मृत अवस्थामा भेटिएकी थिइन् । 

गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलकी छोरी शालीन २ वर्षयता चितवनमा बसेर पढ्दै आएकी थिइन् ।