प्रिमनसुन सक्रिय बन्दै : धादिङसहित देशभर सामान्य बर्षा 

काठमाण्डौँ - नेपालका धेरै स्थानहरुमा अहिले बर्षा भईरहेको छ । धादिङ, नुवाकोट, काठमाण्डौँ लगायतका स्थानमा बिहानैबाट सामान्य बर्षा भईरहेको हो । हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि शुरू भएको छ । आकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो ।

हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रवारदेखि शुरू भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि शुरू भएपछिको आजको यो पहिलो मौसम बदली हो । ​​

मुख्यगरी पश्चिमी वायु र अरेबियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कर्णाली प्रदेशमा बढी बदली रहेको छ ।

सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ ।
काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो ।