आजको शेयर बजार : नेप्से ११.७८ अंकले घट्यो, कारोबार २ अर्ब ८ करोडमा सीमित 

 काठमाडौँ - सेयर बजार कारोबार ओह्रालो लागेको छ ।

आइतबार बजार परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा झरेको छ । कारोबार २ अर्ब ८ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा पनि कम हो ।

होटल, पर्यटन र उत्पादनबाहेकका सबै उपसमूह घट्दा नेप्से दोहोरो अंकले घटेको हो । ३०९ कम्पनीमध्ये १७३ को सेयरमूल्य घटेको छ । सेयर मूल्य घट्दा आज सर्वाधिक गुमाउनेमा चिरख्वा हाइड्रोपावरका लगानीकर्ता छन् । कामना सेवा विकास बैंक ऋणपत्र, बीपीडब्लु लघुवित्त, बोटलर्स नेपाल तराई, माथिल्लो मैलुङ खोला जलविद्युत लगायतका सेयर मूल्य उल्लेख्य मात्रामा घटेका छन् ।

घटेको बजारमा पनि ६७ कम्पनीका सेयर धनीले भने कमाएका छन् । ग्लोबल आइएमई लघुवित्त, एनआइसी एसिया गोथ फण्ड–२, सीवाइसी नेपाल लघुवित्त लगायतको सेयर मूल्य बढेको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा सोनापुर मिनरल्स अगाडि रह्यो । सोनापुरको १३ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । अन्तिम मूल्य प्रति कित्ता ४ सय ५२ रुपैयाँ रह्यो । यसैगरी शिवम् सिमेन्टको ९ करोड, हिमालय रिइन्स्योरेन्सको ८ करोड ३० लाख, बोटलर्स नेपाल तराईको ५ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।