लम्बियो मनसुन, धान भित्र्याउन हतार नगरौँ 

 काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।

सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताए । उनले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए । यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ ।

अबको केही दिन मौसम बदली हुने र ठाउँ ठाउँमा वर्षा समेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए । ‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई(तीन दिन रहने यो प्रणालीले धान विगार्छ, खुलेपछि मात्रै काटौँ’, उनले भने ।

उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ । घाम लाग्ने सम्भावना कम छ । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उनले बताए ।