चितवनमा मानसिक रोगी युवतीमाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

काठमाडौँ । मानसिक रोगी युवतीलाई बलात्कार गरेको आरोपमा तीन जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको माडी नगरपालिका - ७ किर्तनपुरनजिकै मानसिक समस्या भएकी २७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजना चितवन बाहिरका जिल्लाबाट माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

१७, १८ र २३ वर्षका तीन जनाले साथीको जन्मदिन मनाएर फर्कँदै गर्दा बाटोमा ती महिलालाई भेटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताएका छन् ।

डिएसपी रिजालको अनुसार एकजना विद्यार्थीको कोठामा लगेर तीनै जनाले बलात्कार गरेको पाइएको छ । उनीहरूलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी रिजालले जानकारी दिए ।

विवाहित ती महिलाको ८ वर्षका छोरा छन् । श्रीमान्‌सहित माइतीघरमा बस्ने गरेकी उनका पतिसमेत सुस्त मनस्थितीका रहेको बताइएको छ ।