गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो : देउवा  

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व। गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व। कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्व.कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको उल्लेख गरे । 

गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे । आफूले विद्यार्थी बेलामा नै गिरिजाबाबुलाई चिनेको र उनैको सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे । उनकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए । 

‘गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो । त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्शनमा म हारेको हो वास्तवमा । उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो,’ उनले भने ।