'सत्तापक्षका दलसँग बजेटका बिषयमा छलफल गरेर बजेट ल्याएको भए राम्रो हुन्थ्यो' : विष्णु पौडेल

 काठमाडौँ - पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राजस्व र व्ययको अनुमान माथि आफ्नो धारणा राख्दै उनले सो कुरा उल्लेख गरे । 

“अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ । निश्चित समयभित्र यो काम गर्नुपर्छ । तर सत्तापक्षीय राजनीतिक दलसँग सुझाव लिन उहाँले भ्याउनुभएन”, पूर्वअर्थमन्त्री पौडेलले भने, “यदि भ्याउनुभएको भए बजेट अझ राम्रो आउँथ्यो । सल्लाह लिन पाएको भए राम्रो हुन्थ्यो ।”

आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने उल्लेख भएकामा सो अवधारणालाई सरकारले थप स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ । “उच्चस्तरीय अर्थतन्त्र सुधार सुझाव कार्यदल बनाउने विषय बजेटमा उल्लेख छ । यसलाई थप स्पष्ट पारिनुपर्छ । कार्यदलमार्फत सुझाव लिनेभन्दा पनि नीतिको स्रोत भनेको राजनीतिक नेतृत्व हो । यसमा राजनीतिक दलबाटै सुझाव आउनुपर्छ”, उनले भने । 

आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालु आवको तुलनामा आगामी आवको भन्दा बजेट घटेको पूर्वअर्थमन्त्री पौडेलले बताए ।