विश्व बैंक प्रक्षेपण : चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने

 काठमाडौँ - चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

विश्व बैंकले गत जनवरीमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर अहिले त्यसमा केही घटाएको हो । यद्यपि, यस वर्ष नेपाल सरकारले भने देशको आर्थिक वृद्धि ६ प्रतिशतले हुने लक्ष्य राखेको छ ।

गत आव २०७९/८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो । यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको छ ।

आगामी आव नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ । सन् २०२६ मा भने ५.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ ।