राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता

काठमाडौँ - निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबारआयोगले कार्यतालिका सार्वजनिक गरेको हो। मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम तय भएको छ । राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको  छ ।

पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह्न ३ः०० बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

आगामी फागुन २० गतेबाट राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एक तिहाई अर्थात २० जना सांसदको पदावधि सकिँदैछ। संविधानमा यसरी कार्यकाल सकिँने ३५ दिनअघिनै निर्वाचन गर्नुपर्ने ब्यवस्था रहेको छ ।