उपत्यकाको विद्युत् प्रणाली भूमिगत बनाउने काम बेवारिसे 

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत बनाउने काम बेवारिसे बनेको गुनासो गरेका छन् । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायहरूबीचको समन्वय अभावमा ठूला र महत्वपूर्ण आयोजना बेवारिसे अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

सडक विभागले आफ्नो अधिनमा रहेको सडक खन्न अनुमति नदिएपछि विद्युत् वितरण प्रणाली भूमिगत बनाउने आयोजनाको काम गएको असारबाट ठप्प छ । ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्न बिहीवार ललितपुरमा भएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने काममा संलग्न निर्माण व्यवसायीहरू निर्माणस्थल छोडी हिँडिसकेको बताए ।