पर्वतमा बाढीले बगाएको जीप भेटियो : एक जना मृत फेला, दुई अझै बेपत्ता

पर्वत - पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सीमानास्थित तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप भेटिएको हो ।

जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन । जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिएका छन् । बेपत्ता यात्रुको खोजी जारी छ ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीन जनासहित बेपत्ता भएको थियो । खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीप बगेको हो । सोही क्रममा जीपका चालक बसन्त थापा बाढी पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् ।