आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्न डाक्टरको सुझाव

काठमाण्डौँ - आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पूरा गरौँ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम हुँदैछन्।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच  पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ । तर, पारिवार तथा समाजबाट नै ज्येष्ठ नागरिक अपहेलित हुने क्रम बढेको छ । बुढ्यौलीले छुँदै गए पछि शरीर कमजोर हुँदै जाने र विभिन्न रोग लाग्ने हुन्छ ।

ज्येष्ठ नागरिक शारीरिक र मानसिक रुपमा स्वस्थ रहन घर, परिवार र समाजको सहयोग निरन्तर हुनुपर्नेमा डाक्टरले जोड दिएका छन् । ज्येष्ठ नागरिकका कुरा सुन्न र उनीहरुसँग भलाकुसारी गर्न ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर रमेश कँडेलको सुझाव छ ।

यस्तै, ज्येष्ठ नागरिकले पनि आफूलाई स्वस्थ राख्न खानपानसँगै सामाजिक गतिविधिलाई बढाउनुपर्ने उहाँको सल्लाह छ ।