कंगोमा राष्ट्र संघविरुद्ध प्रदर्शन, कम्तीमा ५० जनाको मृत्यु

काठमाडौं - कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा संयुक्त राष्ट्रसंघविरोधी प्रदर्शनमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

बुधबार कंगोका सैनिकले गोमा शहरमा राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । स्थानीय सञ्चार माध्यमले शुरूमा १० जनाको मृत्यु भएको जनाएका थिए । तर, सुरक्षा अधिकारीले पुष्टि गरेको सेनाको आन्तरिक दस्ताबेजमा प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ 

आक्रमणका क्रममा धेरै धारिला हतियार जफत गरेको र सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीले बताएका छन् । शुक्रबार पनि शहरमा गतिविधि ठप्प रहेको स्थानीय सवारी चालकको भनाइ उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । सडकमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरिरहेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भाग तीन दशकदेखि हिंसाको चपेटामा परेको छ ।