प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौँ - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मा उपर उजुरी दिन आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका शर्मामाथि उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो । 

समितिका सभापति पशुपतिशम्शेर जबराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए।