यसपालि हिउँदमा धेरै पानी परेन

 काठमाण्डौँ - मौसमविद्हरुका पूर्वानुमान विपरीत पर्याप्त वर्षा नभइ यस वर्षको हिउँदयाम सकिएको छ । यसपालि हिउँदमा धेरै पानी पर्ने मौसमविद्हरुले अनुमान गरेका थिए । तर मौसमविद्हरुको अनुमान विपरीत यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन । हिउँदमा सरदर ६० मिलिमिटरमा पानी पर्नुपर्नेमा यसवर्ष त्यसको आधा पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदयाम सकिएलगत्तै आजदेखि प्रिमनसुन शुरु भएको छ । इस्वी संवतको मार्च, अप्रिल र मे तीन महिना प्रिमनसुनको समय मानिन्छ । मौसमविद् गोविन्द झाकाअनुसार प्रिमनसुनको औसत अवधि ३ महिना भए पनि मनसुन भित्रिनुभन्दा अघिसम्म समयलाई प्रिमनसुन मानिन्छ ।

आज काठमाण्डौ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । तराई, मधेशमा बिहानीपख हल्का हुस्सु लागे पनि क्रमशः हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र त्यसले सुदूरपश्चिम, कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए । भोलि भने यी प्रदेशहरुमा पहाडी भेगमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।