आजको शेयर बजार ३० अंकले घट्यो, कारोबार रकम चार अर्ब 

 काठमाण्डौँ - बुधबार २० अंकले घटेको नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकले घटेर साताको कारोबार बन्द भएको छ । आज नेप्से ३०.९२ अंकले घटेर दुई हजार ६७.०१ विन्दुमा कायम भएको हो ।

सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्समा समेत आज एक प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ । बिहीबार दुई सय २६  कम्पनीको सेयर मूल्य घट्दा १९ कम्पनीको मात्रै बढेको छ ।

कुल एक करोड १५ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १८ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको छ । बुधबारको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको हो । उक्त दिन पाँच अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

आज वित्त समूहको सूचक ०.२१ प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचक घटेका छन् । सर्वाधिक घटेका जलविद्युत् र अन्य समूहको सूचकमा क्रमशः २.३५ प्रतिशत र दुई प्रतिशतले गिरावट देखिएको छ ।