राष्ट्रिय सभा निर्वाचन : आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको नियुक्ति गर्न लागिएको हो ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम रहेको छ । निर्वाचनमा भाग लिने प्रयोजनका लागि यसअघि नै आयोगमा दल दर्ता भैसकेका छन् ।

आयोगले ७ वटा प्रदेशका २(२ ठाउँमा गरी १४ ठाउँमा मतदान केन्द्र तोकिसकेको छ । १९ जनाको निर्वाचनका लागि ५४९ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवम अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने पनि आयोगले जनाएको छ ।