संसदीय समितिमा मागियो गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं - संसदीय समितिमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ । सोमबार बालकुमारी घटनाको विषयमा छलफल गर्न बोलाइएको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

सांसद राजेन्द्र राईले सरकारले सोमबार बनाएको आयोगले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म बालकुमारी घटनाको छानबिन गर्न नसक्ने बताएका हुन् ।

उनले भने- उक्त समितिले तपाईंले गृहमन्त्रीबाट राजीनामा नदिसम्म छानबिन गर्न सक्दैन । हुँदैन । मन्त्रीको पीएसओ, डीएसपी, सिडियोलाई निलम्बन किन गर्नुहुन्छ ? पहिला तपाईं आजै राजीनामा दिनुहोस्, कर्मचारीलाई मात्रै कारबाही नगर्नुस् । मन्त्रीले भनेपछि पीएसओ खुरुखुरु हिड्न पर्छ तपाईं उसलाई किन कारबाही गर्नुहुन्छ।’

सांसद राईले आज नै पत्रकार सम्मेलन गरेर उनलाई राजीनामा दिन सुझाव दिएका थिए । उनले भने, ‘रोजगार देउभन्दा गोली हान्ने ? मान्छे मार्ने, युवालाई मार्न आदेश दिने ? तपाईंले शान्ति सुरक्षा कायम गर्नु भएन ।’

गृहमन्त्री श्रेष्ठले समितिको बैठकमा बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । उनले ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको बताए ।

मन्त्री श्रेष्ठले घटनामा फिल्डमा खटिएका प्रहरी कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको बुझाइ रहेको समितिमा बताएका छन् ।