महिलाका नाममा घरको नक्सा पास गर्दा निश्चित छुट दिने प्रस्ताव नगर सभामा लैजाने कार्यवाहक प्रमुख डंगोलको भनाइ

काठमाडौँ । महिला भएकै कारण सामर्थ्य कम छ भनेर धारणा बनाउने परिपाटीमा रुपान्तरण हुनुपर्ने विधागत महिला नेतृहरुले धारणा राख्नुभएको छ । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘पावर इन एक्सन : हर टाइम इज नाउ’ शीर्षकको अन्तरसंवाद कार्यक्रममा पुरुष भएकै कारण सामर्थ्यवान ठान्ने र महिला भएकै कारण सामर्थ्यमा विश्वाश नगरेर कामको नतिजा नआउञ्जेलसम्म विश्वाश नगर्ने परम्परागत सोचमा रुपान्तरण हुनुपर्नेमा उहाँहरुको जोड छ ।  विभिन्न क्षेत्रको नेतृत्वमा रहनुभएका महिलाहरुका नेतृत्व यात्राका उतारचढाव, सिकाइ र भोगाइ सुन्न अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो । औपचारिक प्रणालीको नेतृत्व गर्दाका अनुभव संस्थागत नेतृत्वमा रहनु भएका व्यक्तित्वबाट प्रस्तुत भएका थिए । समाजका औपचारिक तथा अनौपचारिक संयन्त्रको नेतृत्व गर्नेहरुले समुदायगत नेतृत्वको अनुभूति सुनाउनु भएको थियो । प्रशासन, कानुन, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन, हक अधिकार, लैङ्गिक उत्तरदायी सहर, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरुको आर्थिक सशक्तिकरण, सूचना प्रविधिका अवसर, व्यक्तित्व विकास, समतामूलक समाज निर्माणका आयामका विषयमा राज्य प्रणालीको उपल्लो ओहदादेखि सामान्य जीवनयापनका पद्धतिसम्मका सृङ्खला समेटिएको थियो ।  कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले, आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा कानुनी व्यवस्था र व्यवहारिक अवस्थाका बिचमा खाडल रहेको उल्लेख गर्नुभयो । ‘महिलाहरुका लागि जारी गरिएका कानुनी व्यवस्थाको महिलाहरुलाई पर्याप्त जानकारी नभएकोले महानगरपालिकाले यस्ता कानुनी प्रबन्धका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । उहाँले सुझावमा शक्ति निक्षेपीकरणको कुरा गर्दै भन्नुभयो, ‘न्यायिक समिति संरचना मात्र होइन । यो न्यायिक विकेन्द्रीकरणको प्रयोग गरेर नागरिकलाई सहज न्याय प्राप्त गर्न सकिन्छ भन्ने महसुस गराउने स्थान पनि हो । यसबाट नागरिकमा छिट्टै न्याय दिन सकिन्छ ।’  महानगरपालिकाले लैङ्गिकमैत्री र समतामा आधारित सहरी व्यवस्थापन, लैङ्गिकताका आधारमा हुने हिंसा न्यूनीकरण, व्यवस्थापन तथा स्थानीय विवाद निरुपणका लागि ६ वटा स्थानीय कार्यान्वयनमा ल्याएको छ । कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘कानुनबाट विधि स्थापित गर्ने, उद्यमशीलताबाट आर्थिक सशक्तिकरण गर्ने, सेवा सहजताबाट पहुँच स्थापित गर्ने दिशामा हामी क्रियाशील छौँ ।’ उहाँले भन्नुभयो, ‘महिलाका नाममा स्वीकृत हुने भवन नक्सामा छुट दिने प्रस्ताव आगामी नगर सभाको बैठकमा लिएर जानेछौँ । कार्यस्थलमा हुने हिंसाका लागि प्रचलित कानुनको प्रचलन गराउँछौँ । आवश्यकताका आधारमा नयाँ कानुन तर्जुमा गर्छौँ । घरमै बसेका गृहिणी महिलालाई आय आर्जनमा जोड्ने कार्यक्रमको कार्यविधि तर्जुमा गर्छौँ ।’ ‘पहिलेको भन्दा अहिले महिलाहरुको अवस्थामा धेरै परिवर्तन आएको छ । तर, अझै पुग्ने अवस्था छैन ।’ कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले भन्नुभयो, ‘म निजामती सेवामा प्रवेश गर्दा काम गर्ने कार्यालयमा महिलाका लागि शौचालय पनि थिएन । अर्को कार्यालयमा जानु पथ्र्यो ।’ उहाँले आफ्नो अध्ययन काल र वृत्ति विकासको कुरा सुनाउँदै भन्नुभयो, ‘कानुन पढेर भोलि के हुन्छ भन्ने नजानी बुबा र दाजुले पढ भनेका भरमा पढेकी हुँ । निजामती सेवामा प्रवेश गरेर मुख्य सचिवसम्म पुग्दा भनेर नसकिने कथा छन् । हिजोका ती कथा आज उस्तै छैनन् । स्वरुप फेरिएको छ । संघर्ष यथावत् छ ।