काठमाडौँ । मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्या पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि महानगरपालिकाले विज्ञ तथा क्षेत्रगत प्रतिनिधिसँग छलफल गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका व्यक्तिलाई सहयोग गर्ने तत्परता, यसको व्यवस्थापनसँग सम्बन्धित कानुनी दायित्व, सामाजिक अवस्था, प्राज्ञिक तथा सरोकारवालाको भूमिका छलफलका विषय थिए । छलफलमा कार्यवाहक प्रमुख डंगोलले, व्यक्ति र परिवारमा सानासाना कुराले पनि ठुलो पिरालो गरेको बताउँदै यही पिरोलोका कारण व्यक्तिहरु मानसिक समस्यामा रहेको तथ्यमा चर्चा गर्नुभयो । ‘विवाहपछि महिलाहरुको जिम्मेवारी, उनीहरुप्रति परिवार र समाजको अपेक्षा, यस क्रममा गर्भवती हुने अवधि, सुत्केरी र त्यसपछिको एक वर्षमा धेरै ठुलो मानसिक समस्या भोग्नु पर्ने, यसै कारण जीवन नै अन्यत्र मोडिने अवस्था छ । यो एउटा उदाहरण हो । यस्तो अरु पनि अवस्था छन् । यस्ता अवस्था पुरुषहरुमा पनि छन् ।’ उहाँले समस्या समाधानको उपायका विषयमा कुरा गर्दै भन्नुभयो, ‘शारीरिक रुपमा देखिएको रोगलाई सबैले स्वीकार गरेर उपचार गराउने तर, मानसिक रोगलाई स्वीकार नगरी रोग भएको व्यक्ति झन् पीडित भएर बस्नु पर्ने अवस्थामा सुधार गर्नु अहिलेको पहिलो आवश्यकता हो । यो सुधारका लागि मिलेर काम गरौँ ।