विधागत महिला नेतृहरुको नेतृत्व र सहास यात्राको कुरा सुन्ने कार्यक्रम आयोजना गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रका महिला नेतृहरुको नेतृत्व यात्राको कुरा सुन्न अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, व्यक्तित्व र नेतृत्व विकास गर्ने महिलाहरुका लागि कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो । ‘यो प्रेरणादायी हुनेछ । फरक विधा र  क्षेत्रमा नेतृत्व गर्दाका अनुभव उत्प्रेरक हुन सक्छन् । सहास र संघर्षका कथा, समाज रुपान्तरणमा महिलाको भूमिका सिकाइमूलक हुन सक्छन् । सम्भावना प्राप्त गर्ने विधि, चुनौतीको सामना गर्ने विधि थाहा हुन्छ ।’ डंगोलले कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्दै भन्नुभयो, ‘महिलाहरुलाई सहभागी हुन हामी खुला निमन्त्रणा गर्दछौँ ।’   ११६ औँ अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा महानगरपालिकाले गर्ने कार्यक्रमका विषयमा जानकारी दिन आज काठमाडौँ प्लाजामा आयोजना गरिएको कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘विभिन्न क्षेत्रको नेतृत्वमा रहनुभएका महिलाहरुका नेतृत्व यात्राका उतारचढाव, सिकाइ र भोगाइ सुन्न पावर इन एक्सन ' हर टाइन इज नाउ शीर्षकमा महानगरपालिकाले अन्तरसंवाद कार्यक्रम आयोजना गर्नेछ । औपचारिक प्रणालीको नेतृत्व गर्दाका अनुभव संस्थागत नेतृत्वमा रहनु भएका व्यक्तित्वबाट प्रस्तुत हुनेछ । समाजका औपचारिक तथा अनौपचारिक संयन्त्रको नेतृत्व गर्नेहरुले समुदायगत नेतृत्वको अनुभूति सुनाउनुहुनेछ ।’ मानन्धरले भन्नुभयो, ‘प्रशासन, कानुन, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन, हक अधिकार, लैङ्गिक उत्तरदायी सहर, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरुको आर्थिक सशक्तिकरण, सूचना प्रविधिका अवसर, व्यक्तित्व विकास, समतामूलक समाज निर्माणका आयामलगायत विषयमा अनुभूति समेटिनेछन् । राज्य प्रणालीको उपल्लो ओहदादेखि सामान्य जीवनयापनका पद्धतिसम्मका सृङ्खला महिला नेतृत्वका कथा कार्यक्रममा समेटिनेछन् ।’ प्रवक्ता मानन्धरका अनुसार एकजना महिलाले देखेको, भोगेको र अनुभूति गरेको विषय नेतृत्व यात्रामा अर्की महिलाका लागि सिकाइ बन्न सक्ने भएकोले यसप्रकारको कार्यक्रम तर्जुमा गरिएको हो ।