काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र अमेरिका ओरेगनस्थित युजिन नगरका प्रमुख कारिन नडसनबिच कार्यवाहक प्रमुख डंगोलको कार्यकक्षमा भेटवार्ता भएको छ । भेटका क्रममा भगिनी सम्बन्धको विगत समीक्षा गर्दै नगरनगर बिचको सम्बन्धलाई नागरिक स्तरमा जोड्ने सम्भावित कार्यक्रमका विषयमा कुराकानी भएको थियो । भेटमा कार्यवाहक प्रमुख डंगोलले, सम्बन्धलाई नागरिक स्तरमा अनुभूति हुने कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो । त्यस्तै प्रमुख नडसनले काठमाडौँले सञ्चालन गरेको पुस्तररहित शुक्रबार (वुक फ्री फ्राइडे) कार्यक्रमबाट आफू प्रभावित भएको उल्लेख गर्नुभयो । कुराकानीका क्रममा काठमाडौँ र युजिन नगरका जनताहरुको आपसी र पारस्परिक सहयोग प्रवर्धन र सुदृढ बनाउने, सांस्कृतिक, वातावरणीय, सामाजिक, आर्थिक, व्यापार तथा वाणिज्य, शैक्षिक, वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा आपसी क्रियाकलाप आदानप्रदान तथा सञ्चालनका विषय उठेका थिए । काठमाडौँ महानगरपालिकासँग अन्तरराष्ट्रिय १६ वटा नगरसँग भगिनी सम्बन्ध रहेको छ । जसमध्ये अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ । युजिनसँग सन् १९७५ सालमा सम्बन्ध स्थापना भएको हो ।