काठमाडौँ । काठमाडौँ महानगरपालिका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएका छन् । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि २ चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम एकिन गरेको हो । तेस्रो चरणमा थप ८ वटा वडाहरुको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यस सम्बन्धी जानकारी दिइएको हो । तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गर्नुभएको हो ।