काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारका लागि ६ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । गत वर्षहरुका लिइएको एसईई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ । यीमध्ये पहिलो चरणमा धेरै विद्यार्थी भएका गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो । यी विद्यालयमा विशेष कक्षाको आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइनेछ । विषय विज्ञ, स्रोत शिक्षक, सेवा निवृत्त शिक्षकहरुले यी कक्षाहरु लिनुहुनेछ । न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुनेछन् । यी विद्यालयहरुका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ । यी दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ । यो कुल परीक्षार्थीको १३ प्रतिशत हो ।