काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट, प्रवेश पत्र डाउनलोड आजदेखि
काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १६,१३७ जना विद्यार्थी छनोट हुनुभएको छ। देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७,२२९ आवेदनमध्येबाट यी विद्यार्थीहरू छनोट हुनुभएको हो । पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संग्लग्न नभएका १०९२ आवेदन अस्वीकृत भएका हुन्। शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११,५९०, व्यवस्थापन संकायका लागि ४,१६४, मानविकी संकायका लागि ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश हुनुहुन्छ । छनोट हुनु भएका विद्यार्थीहरूलाई इमेल र फोनमार्फत सूचना पठाइसकिएको छ।
