काठमाडौं महानगरपालिकाले आन्दोलनका क्रममा ६० स्थानमा आगलागी निभायो, सुरक्षाका कारण ढिलाइ भए पनि क्षति न्यूनीकरणमा सफल
काठमाडौं - भाद्र २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न ६० स्थानमा भएका आगलागी घटनाहरू नियन्त्रण गर्न महानगरपालिकाले पूर्ण रूपमा दमकल परिचालन गरेको बताएको छ । महानगरको विपद् व्यवस्थापन विभागका अनुसार महानगरसँग उपलब्ध ५ वटै दमकल खटिएका थिए, जसले आन्दोलनका कारण उत्पन्न आगलागीबाट थप क्षति रोक्न महत्वपूर्ण भूमिका खेलेको छ। यद्यपि, आन्दोलनकारीहरूको जुलुस, सडक अवरोध र ढुङ्गामुढा जस्ता क्रियाकलापका कारण दमकलहरू तत्काल घटनास्थल पुग्न नसकेको विभागले स्पष्ट पारेको छ। महानगरपालिका प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक प्रमुख राजुनाथ पाण्डे भन्नुभयो, “हामीले विभिन्न ठाउँमा, महानगर क्षेत्रभित्र मात्र होइन बाहिर पनि रहेका आगलागी घटनाहरू निभाउन प्रयत्न गरेका थियौं। चौबीस गते बेलुकासम्म विभिन्न ठाउँमा भएको आगजनीमा दमकल पठाउन खोज्दा हाम्रो दमकल सेन्टर न्युरोड, बालाजु र रामिटी बहुवोटमा रहेको थियो। साँझदेखि नै प्रायोगिकबाट सर्वोच्च अदालत, सिंहदरबार लगायतका महत्वपूर्ण ठाउँहरूको आगजनी जोगाउन प्रयत्न गरेका थियौं। तर तत्कालीन अवस्थामा जुलुस, आन्दोलनका कारण सडकमा आन्दोलन जारी भएकाले दमकल निस्कन सकेन। न्युरोडबाट निस्कन खोज्दा त्यहाँ नै आगजनी भइरहेको थियो, दमकलको गेट अगाडि गाडीहरू जलिरहेका थिए। नेपाली सेनासँग समन्वय गरे पनि तत्काल सम्भव भएन।” हजारौँ प्रदर्शनकारीहरू आन्दोलनमा उत्रिएकाले र दमकलमा कार्यरत कर्मचारीहरूको सुरक्षाको दृष्टिकोणले पनि समयमा घटनास्थलमा पुग्न नसकिएको पाण्डेले बताउनु भयो ।
