निर्माण व्यवसायी महासंघद्वारा मन्त्री घिसिङ समक्ष निर्माण उद्योगका समस्या बारे ब्रिफिङ, पूर्वाग्रही भएर ठेक्का नतोड्ने मन्त्री घिसिङको वचनवद्धता
असोज ०५, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने स्पष्ट पार्नु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको आइतबारको भेटमा मन्त्री घिसिङ पूर्वाग्रही ढंगले ठेक्का नतोडिने बताउनु भएको हो । काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने जो कोही विरुद्ध भने सरकार निर्मम हुन सक्ने संकेत मन्त्री घिसिङले दिनुभयो । अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक रहेको भन्दै मन्त्री घिसिङले कम रकम कबोल गरेर ठेक्का लिएमा घरवार जान्छ, बैंक जमानत जफत हुन्छ, जरिवाना (पेनाल्टी) हुन्छ भन्ने डर नभएसम्म काम नहुने बताउनुभयो । ठेक्का सम्झौता गर्ने तर लामो समयदेखि काम नभई जीर्ण भएका आयोजना अब राख्न नहुने मन्त्री घिसिङको भनाइ थियो ।
