SHARE
अर्थ संवाद · मङगलबार १९ साउन २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

जापानमा ‘चिरियु फुटसल मिनी एसियाली प्रतियोगिता’ हुँदै, नेपालबाट दुई टोलीको सहभागिता

जापान। आइची खेलकुद प्रवर्द्धन संघ तथा सामाजिक फुटबल टोली एएस कारिया (AS Kariya) को आयोजनामा आगामी अगस्ट १६ मा चिरियु शहरस्थित सुगी फार्मेसी चिरियु वेलफेयर एरिनामा ‘चिरियु फुटसल मिनी एसियाली प्रतियोगिता’ आयोजना हुने भएको छ। प्रतियोगितामा नेपालसहित ९ एसियाली देशका १६ टोली सहभागी हुने अपेक्षा गरिएको छ। सहभागी देशहरूमा नेपाल, जापान, भारत, भियतनाम, इन्डोनेसिया, दक्षिण कोरिया, म्यानमार, कम्बोडिया र चीन रहेका छन्। नेपाली टोलीको सहभागिताले जापानमा रहेका नेपाली समुदायको उपस्थिति तथा खेलकुदप्रतिको सक्रियतालाई थप उजागर गर्ने विश्वास गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विभिन्न कम्पनीमा कार्यरत विदेशी कर्मचारीहरूबीच फुटसलमार्फत आपसी सम्बन्ध, मित्रता तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नु हो। भाषा र संस्कृतिको विविधतालाई खेलमार्फत जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो।  प्रतियोगितामा मेटावर्क्स, टोयोटा आइरन वर्क्स, कोन्डो इन्डस्ट्रीज, सान्जिरुशी ब्रुइङ, एसबीआई रेमिट लगायतका कम्पनीका टोलीहरू सहभागी हुनेछन्। साथै, चिरियु हाई स्कूल, यामामोटो गाकुएन, एशिया कन्सल्टिङ र एच एन्ड ए जापानीज ल्याङ्ग्वेज स्कूललगायत स्थानीय शैक्षिक संस्थाका टोलीहरूको पनि सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले एएस कारियाका खेलाडीहरू सम्मिलित विशेष टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर प्राप्त गर्नेछ। कार्यक्रम बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन हुनेछ भने प्रतियोगितामा प्रवेश सबैका लागि निःशुल्क रहने आयोजकले जनाएको छ। कारिया र चिरियुलगायत निशिमिकावा क्षेत्रमा ठूलो संख्यामा विदेशी नागरिक कार्यरत रहेकाले यस्ता कार्यक्रमले विभिन्न समुदायबीचको सहकार्य, सद्भाव र सामाजिक एकतालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। यसैबीच, एसबीआई रेमिटेन्सका सञ्चालक तीर्थ कार्कीका अनुसार प्रतियोगितामा ‘एसबीआई रेमिटेन्स टिम नेपाल’ का नामबाट दुई नेपाली टोली सहभागी हुनेछन्।