SHARE
Samata Press · शनिबार १६ साउन २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी तीन लाख रुपैयाँ घुससहित नियन्त्रणमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत कर्मचारी तथा लेखापढी व्यवसायीले रु तीन लाख घुस मागेको भन्दै पाँच जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।  सो कार्यालयका नायबसुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवालसमेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग रु तीन लाख घुस/रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा निजहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।  आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस/रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए।