SHARE
Samata Press · शुक्रबार​ १५ साउन २०८३ ११:१५ PM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न फेडोको अपिल

काठमाडौं। दलित महिला संघ नेपाल (फेडो) ले सुनसरीको देवानगञ्जमा भएको घटनामा निष्पक्ष छानविन र सामाजिक सद्‌भाव कायम गर्न आह्वान गरेको छ।  संघका अध्यक्ष कला स्वर्णकार र महासचिव रेणु सिजापतिले विज्ञप्ति जारी गर्दै देवानगञ्जबाट सुरु भई देशका विभिन्न स्थानमा फैलिएको सामाजिक द्वन्द्वका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्‌भाव कायम गर्न सबै पक्षको भूमिका आवश्यक रहेको अपिल गरेका छन्। संघले यी घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, आस्था र पहिचानको सम्मानपूर्वक रक्षा गर्ने अधिकार सुनिश्चित गरे पनि पछिल्लो समय विभिन्न स्थानमा देखिएको साम्प्रदायिक तनावले सामाजिक न्याय, सहअस्तित्व र राष्ट्रिय एकतामाथि चुनौती सिर्जना गरेको संघको ठम्याइ छ।  फेडोले कुनै पनि असहमति वा विवादको समाधान हिंसा, उत्तेजना वा द्वन्द्वबाट नभई वार्ता, आपसी समझदारी र कानुनी प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिएको छ। साथै, सामाजिक सद्भाव खलबल्याउने भ्रामक प्रचार, उत्तेजक अभिव्यक्ति तथा अफवाहबाट टाढा रहन सम्पूर्ण नागरिक, सञ्चारमाध्यम, नागरिक समाज र विभिन्न संघ–संस्थालाई संयमता अपनाउन आग्रह गरेको छ।