SHARE
Samata Press · बिहीबार १४ साउन २०८३ ०८:३० PM · 1 मिनेट पढाइ

धार्मिक सद्भाव कायम गर्न प्रमुख विपक्षी नेता आङ्देम्बेको अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशका विभिन्न स्थानमा बढ्दो धार्मिक तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले शान्ति, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबैसँग अपिल गरेका छन्। बिहीबार जारी गरेको अपिलमा उनले सुनसरीको देवानगञ्जबाट सुरु भएको तनाव सिरहाको गोलबजार, धनुषाको जनकपुर र पर्साको वीरगञ्जसम्म फैलिएको उल्लेख गरेका छन्। यस क्रममा तीन जनाको मृत्यु भएको र धेरै घाइते भएकोप्रति उनले दुःख व्यक्त गरेका छन्। मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। आङ्देम्बेले नेपाल विविध धर्म, भाषा र संस्कृतिको साझा देश भएको बताएका छन्। `नेपाल विविध धर्म, भाषा, संस्कृति र समुदायको साझा फूलबारी हो। यही विविधताभित्रको एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो, उनले भने । धार्मिक र सांस्कृतिक विविधताले नै नेपाली समाजलाई बलियो बनाएको उनको भनाइ छ। `हाम्रो धर्म फरक हुन सक्छ। पूजा गर्ने तरिका फरक हुन सक्छ। तर, हामी सबै नेपाली हौँ,´ उनले भने, `मानवता नै सबैभन्दा ठूलो धर्म हो।´ धर्मका नाममा घृणा र विभाजन फैलाउन नहुने उनको आग्रह छ। `कुनै पनि धर्मले घृणा, हिंसा वा वैमनस्यको बाटो देखाउँदैन,´ उनकाे भनाइ छ। सम्पूर्ण नागरिकलाई संयम अपनाउन पनि उनले आग्रह गरेका छन्। `हाम्रो एउटा असावधानीले समाजमा ठूलो क्षति पुग्न सक्छ। अफवाह र उत्तेजनामा होइन, सत्य र सहिष्णुतामा विश्वास गरौँ,´उनकाे अपिल छ । राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम र युवाहरूलाई पनि उनले समाजलाई जोड्ने भूमिका खेल्न आग्रह गरेका छन्। सरकारलाई पनि संवाद र कानुनी प्रक्रियाबाट समस्या समाधान गर्न उनले आग्रह गरेका छन्। `बल प्रयोगभन्दा संवाद र विश्वासलाई प्राथमिकता दिनुपर्छ। घटनाको निष्पक्ष छानबिन हुनुपर्छ,´ उनले भने, `दोषीलाई कानुनबमोजिम कारबाही गरिनुपर्छ।´ आङ्देम्बेले अन्त्यमा सबैलाई राष्ट्रिय एकता र धार्मिक सहिष्णुताप्रति पुनः प्रतिबद्ध हुन आह्वान गरेका छन्।