जिल्ला जानुस्, सद्भाव कायम गर्न जुट्नुस : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् । बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् । बैठकपछि सांसद रहवर अन्सारीले सभापति लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे ब्रिफिङ गर्दै सामाजिक सद्भाव कायम राख्ने काममा सांसदहरूलाई निर्देशन दिएको जानकारी दिए । ‘यो घटनाको अपनत्व लिएर पार्टीका सबै सांसदहरू यहाँ बसेर होइन, आ–आफ्ना क्षेत्रमा, जिल्लामा गएर कसरी समन्वयकारी भूमिका निर्वाह गर्नसकिन्छ खेल्नुस् भनेर उहाँले भन्नुभयो,’ अन्सारीले भने, ‘सद्भावको सन्देश यहाँबाट सुरु गरेर गाउँ–टोलमा पुगेर दिँदै यस किसिमका कुनैपनि द्वेष फैलाउने काम, बाहिरी तत्वहरूले सामाजिक सद्भाव भड्काउन खोजेका छन् भने त्यसलाई मत्थर पार्न सम्पूर्ण सांसदको भूमिका रहनुपर्छ भनेर उहाँले स्पष्ट रूपले निर्देशन दिनुभएको छ ।’ अब सभापति लामिछानेको निर्देशन बमोजिम सांसदहरू आफ्नो जिल्ला र क्षेत्रमा जाने उनले बताए । ‘अब हामी आफ्ना जिल्ला र क्षेत्रमा जान्छौं । राज्यका संयन्त्रसँग मिलेर काम गर्छौं,’ सांसद अन्सारीले भने । गोली चल्नु र ज्यान जानु दु:खद् दुर्घटना रहेको सांसद अन्सारीले बताए । ‘सामाजिक सद्भाव भड्किनु सामूहिक समस्या हो, यो देशलाई एक राख्नखोज्दा सबै सुरक्षित रहन्छौं भन्ने उहाँको धारणा आएको छ हो,’ उनले भने ।
