खिम्ती-घवाङ साना जलविद्युत्मा एनएमबी बैंकले १ अर्ब २४ करोड लगानी गर्ने
काठमाडौँ। दोलखा र रामेछापको सिमानास्थित खिम्ती–घवाङ खोलामा निर्माणाधीन ९ मेगावाट क्षमताको ‘खिम्ती–घवाङ साना जलविद्युत् आयोजना’मा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ। आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच २०८३ साउन १२ गते ऋण लगानी सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल तथा कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्। कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ बैंक ऋणमार्फत तथा बाँकी ५६ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) मार्फत जुटाइनेछ। कम्पनीका अनुसार आवश्यक इक्विटीमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको छ भने बाँकी रकम आगामी असोजभित्र संकलन गर्ने लक्ष्य राखिएको छ। दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमाना भएर बग्ने खिम्ती–घवाङ खोलामा निर्माण भइरहेको आयोजनाको भौतिक प्रगति हालसम्म करिब ३० प्रतिशत पुगेको कम्पनीले जनाएको छ। गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यस आयोजनालाई सामाजिक तथा वातावरणीय मापदण्डका दृष्टिले नेपालकै नमुना आयोजना बनाउने लक्ष्य लिइएको छ। कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालका अनुसार हाइड्रो सेलेक्ट टुल्स प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने यो नेपालका जलविद्युत् आयोजनामध्ये पहिलो आयोजना हुनेछ। आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्राप्त भइसकेको छ। हालसम्म पहुँचमार्ग, गोदाम घर, आवास गृह निर्माण तथा जग्गा खरिदको काम सम्पन्न भइसकेको छ भने सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल संरचनाको निर्माणका लागि ठेक्का सम्झौता भई काम तीव्र गतिमा अगाडि बढिरहेको छ। आयोजनाको निर्माण कार्य २०८४ चैतभित्र सम्पन्न गरी व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
