पूर्वमन्त्री सीता गुरुङको प्रश्न- तपाई त प्रधानमन्त्री बन्नुभयो, फोहोरमैला व्यवस्थापन कहाँ पुग्यो ?
काठमाडौँ। नेपाली कांग्रेसकी नेता एवम् पूर्व सहरी विकासमन्त्री सीता गुरुङले फोहोरमैला व्यवस्थापनका विषयमा दीर्घकालीन समाधान खोजिनुपर्ने बताएकी छन्। उनले हालका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सहरी विकास मन्त्रालयमा भएको छलफलको तस्बिर फेसबुकमा सेयर गर्दै फोहोरमैला व्यवस्थापनबारे बालेनलाई ध्यानाकर्षण गराएकी हुन्। गुरुङ सहरी विकास मन्त्री हुँदा काठमाडौँको मेयरकोरुपमा ध्यानाकर्षण गराउँदै बालेन। नेता गुरुङले आफू मन्त्री हुँदा नै देशैभरि एउटै नीति बनाएर फोहोरमैला व्यवस्थापन गर्ने प्रयास गरेको र त्यससम्बन्धी नीति र ऐन अन्तिम चरणमा पुर्याएको समेत स्मरण गरेकी छन्। उनले लेखेकी छन्- मैले शहरी विकास मन्त्रालय सम्हाल्दा काठमाडौं उपत्यकामा मात्रै हैन, देशैभरि एउटै नीति बनाएर फोहरमैला व्यवस्थापन गर्ने लक्ष्यका साथ फोहरमैला व्यवस्थापन नीति र ऐन अन्तिम चरणमा पुर्याएको थिएँ।
