SHARE
Samata Press · मङगलबार १२ साउन २०८३ ०५:३७ PM · 1 मिनेट पढाइ

चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नारायाणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनामा संलग्नलाइ कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले शान्ति पूर्णरुपमा वार्ता र सम्वादकै माध्यमबाट विवादको समाधान खोजी चिकित्सक डा प्रमोद राममाथि कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारलाई निर्देशन समेत दिएको छ । प्रवक्ता डा टीकाराम पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ,“स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील भई सेवा सुचारु गर्न, आफ्ना विरोध र विमती राख्दा आमनागरिकको स्वास्थ्यमा असर नपर्ने प्रकृतिका अन्य वैकल्पिक उपायहरु अवलम्बन गर्न तथा वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आयोग नेपाल सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।” अराजकताले प्रश्रय पाएमा कानुनी शासनमाथि चुनौती खडा हुने जनाउँदै आयोगले अस्पतालको सेवा बन्द गरिँदा बिरामी उपचारबाट वञ्चित हुन परेको जनाएको छ ।