SHARE
Samata Press · मङगलबार १२ साउन २०८३ ०५:५५ PM · 1 मिनेट पढाइ

मितव्ययी र धाँधलीरहित निर्वाचनका लागि ठोस कार्ययोजना बनाउन समितिको निर्देशन

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति सदस्यले निर्वाचनलाई मितव्ययी र धाँधलीरहित रूपमा सम्पन्न गर्न ठोस कार्ययोजना ल्याउन प्रस्तावित निर्वाचन आयुक्तलाई आग्रह गरिएको  छ । समितिको आजको बैठकमा प्रस्तावित आयुक्त गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ) को सुनुवाइका क्रममा सदस्यले ठोस कार्ययोजना ल्याउन अनुरोध गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य राजीव खत्रीले निर्वाचन खर्च कम हुनुपर्ने र उम्मेदवारको निर्वाचन खर्चको विवरण वस्तविकता हुनुपर्ने, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्नेलगायत विषयमा जवाफ मागे । नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र  स्वतन्त्र कसारी बनाउने भनी जिज्ञासा राखेका थिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वर्षमान पुनले निर्वाचन क्षेत्र र मुलुकबाहिर रहने मतदातालाई मतदानमा सहभागी गराउनुपर्ने राय दिएका थिए ।  जवाफमा प्रस्तावित आयुक्त वाग्लेले नेपाली नागरिकता नत्यागेका अन्य मुलुकको नागरिकता नलिएका र स्थायी बसोवासपत्र नलिएका व्यक्तिलाई कानुन बनाएर मताधिकार दिन सकिने बताए ।  अर्का प्रस्तावित आयुक्त डा सुब्बाले प्रजातान्त्रिक शासन व्यवस्थामा प्रभावकारी निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलाई प्रविधिको सहयोगमा सञ्जीवनी संस्थाका रुपमा स्थापित गर्नुपर्ने बताए । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीसहित आयुक्तमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । प्रस्तावित प्रमुख आयुक्त कार्कीको सुनुवाइ बुधबार हुनेछ ।