SHARE
Samata Press · शनिबार ९ साउन २०८३ ०४:३८ PM · 1 मिनेट पढाइ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले घुसको रकमसहित कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको हो ।  आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा सर्लाहीको बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँ तल्लामा रहेको डिभिजन प्रमुखको निवासमा छापा मार्दा ढकाल बसेको सोफामा सेवाग्राहीसँग लिएको रु सात लाख ५० हजार रकम बरामद भएको छ ।  खानतलासीको क्रममा स्रोत नखुलेको थप रु ७१ हजार ११५ नगदसमेत बरामद भएको सूचना अधिकारी पोखरेलले बताए ।