एकीकृत जाँच चौकी परिसरमा वृक्षरोपण
नेपालगञ्ज । नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) परिसरमा आज विभिन्न जातका ५०० बिरुवा रोपिएको छ । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजना तथा एकीकृत जाँच चौकी नेपालगञ्ज, भन्सार एजेन्ट सङ्घ नेपालगञ्ज एकाइ र टिआएस एटलस लोजिपार्क प्रालिको सहकार्यमा वृक्षरोपण भएको हो । एकीकृत जाँच चौकी परिसरमा अमला, निम, सितलचिनी, राज वक्ष, खैर, कोइरालो, छतिवन, ज्याकाराण्डा, पारिजातलगायत जातका ५०० बिरुवा रोपिएको रोटरी क्लबका सदस्य चक्र गिरीले जानकारी दिए । कार्यक्रम संयोजक सरोज रेग्मीका अनुसार रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले जुलाइ २६ देखि अगस्ट १ सम्मलाई ‘वृक्षरोपण सप्ताह २०२६’ का रूपमा मनाउँदै देशभर एक लाख बिरुवा रोप्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको छ । नेपालगञ्जका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले वातावरणीय सन्तुलन कायम राख्न वृक्षरोपण अपरिहार्य रहेको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा सबै पक्षले समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा एकीकृत जाँच चौकीका सुरक्षा प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तीर्थराज न्यौपाने, टिआएस एटलस लोजीक प्रालिका व्यवस्थापक तर्कराज जोशी, नेपाल भ्यालुअर्स एसोसिएसनका उपाध्यक्ष इञ्जिनियर विवेक लामिछाने, हरित अभियन्ता हेमन्तराज काफ्ले, नेपालगञ्ज भन्सार एजेन्ट सङ्घका अध्यक्ष दिनेश बानियाँलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो । आज तुलसी रोपण गरेर अन्य वृक्षरोपण कार्यक्रम सुरु भएको हो ।
