SHARE
Samata Press · शनिबार ९ साउन २०८३ ०४:५४ PM · 1 मिनेट पढाइ

भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन

चितवन । उपचारमा आउने बिरामीले सधैँ रगतको अभाव खेप्नु परेपछि भरतपुर अस्पतालले आफैँले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमा गत एक वर्ष तीन हजार ८३५ युनिट रगत सङ्कलन भएको छ । हरेक साताको सोमबार, बुधबार र शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आइएको केन्द्रले जनाएको छ । विसं २०८१ जेठदेखि नियमित रक्तदान कार्यक्रम गर्न थालिएको जनाउँदै रक्तसञ्चार केन्द्रका अधिकारी विष्णुप्रसाद बाँस्तोलाले ती दिनमा बिहान ८ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म रक्तदान गर्न सकिने बताए ।  रक्तदान गर्नेलाई खाजाको व्यवस्था गरिनुका साथै अस्पतालले प्रमाणपत्र पनि दिने गरेको छ । उनका अनुसार खाजाको खर्च भरतपुर महानगरपालिकाले भुक्तानी गर्दछ । बिरामीका आफन्तहरूबाट धेरै रगत सङ्कलन हुने गरेको छ । कतिपय सङ्घ संस्थाले आफ्नो विशेष दिन पारेर रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् ।  साथै बाहिर गएर पनि रगत सङ्कलन गर्ने गरिएको केन्द्रका अधिकारी बाँस्तोलाले जानकारी दिए । अस्पतालका बिरामीलाई यहाँ सङ्कलन भएको रगतले नपुग्ने भए पनि केही हदसम्म आकस्मिक अवस्थामा सहयोग पुगेको उनको भनाइ छ । अस्पतालले बाँस्तोलाको नेतृत्वमा प्राविधिक र सहयोगी गरी पाँच जनाको टिमलाई रगत सङ्कलनमा खटाउँदै आएको छ ।