SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार ९ साउन २०८३ ०३:१९ PM · 1 मिनेट पढाइ

काठमाडौँका ज्येष्ठ नागरिक दैनिक ५ देखि १५ वटासम्म औषधि सेवन गर्दै : बुढयौली उमेरको सहारा बन्दै काठमाडौँ महानगरपालिका 

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुले दैनिक ५ वटादेखि १५ वटासम्म औषधि सेवन गरिरहनु भएको पाइएको छ । महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुको प्रारम्भिक स्वास्थ्य परीक्षणसहित ‘स्वास्थ्य सर्वेक्षण’का क्रममा यस्तो अवस्था देखिएको हो । त्यस क्रममा सबै वडाका गरेर २ हजार ८४७ जना ज्येष्ठ नागरिक समेटिनु भएको छ ।  अध्ययनमा समेटिनुभएका मध्ये महिलाको संख्या १ हजार ७९४ जना (६३ प्रतिशत) र पुरुषको संख्या १ हजार ९५३ जना (३७ प्रतिशत) रहेको कार्यक्रमका फोकल पर्सन कल्पना श्रेष्ठले जानकारी दिनुभयो । यो तथ्याङ्कले काठमाडौँमा ज्येष्ठ नागरिकको जनसंख्यामा महिलाको हिस्सा ठूलो रहेको देखिन्छ । यस्तै पुरुषका दाँजोमा महिलाहरुको स्वास्थ्य समस्या फरक रहेको देखाउँछ । महिलाहरुमा बाथ र पुरुषहरुमा प्रोस्टेडको समस्या धेरै सर्वेक्षणले ज्येष्ठ नागरिकहरूमा नसर्ने दीर्घरोगको चाप धेरै देखिएको छ । २ हजार ८४७ मध्ये ८० प्रतिशत अर्थात २ हजार २८२ जनामा उच्च रक्तचापको समस्या देखिएको छ । यसमा महिलाको संख्या १ हजार ४७१ जना र पुरुषको संख्या ८११ जना छ । केही व्यक्तिमा २१०-११० सम्म पुगेको भेटिएको छ । यो अवस्थाले पक्षघातको उच्च जोखिम सिर्जना गर्ने, फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।  मधुमेहको अवस्था हेर्दा करीब ४० प्रतिशत महिला अर्थात ७१७ जना र ४२ प्रतिशत पुरुष अर्थात ४४२ जना यसबाट प्रभावित भएको देखिन्छ । कतिपय बिरामीको रगतमा चिनीको मात्रा ४९० सम्म पुगेको भेटियो । धेरैजसो बिरामीहरू इन्सुलिनको सहारामा जीवन बचाइ रहनुभएको छ ।  सबैभन्दा ठूलो लैङ्गिक अन्तर बाथ रोगमा देखिएको छ । कुल १ हजार ७९४ महिलामध्ये ५५ प्रतिशत अर्थात ८८७ जना बाथ र हाडजोर्नीको समस्याले ग्रस्त हुनुहुन्छ । जबकि पुरुषमा यो दर २२ प्रतिशत मात्र छ । यसले गर्दा महिलाहरूको गतिशीलता कमजोर भएको छ । उहाँहरु ओछ्यानमै सीमित हुने वा सहारा बिना हिँड्न नसक्ने अवस्थामा पुग्नुभएको छ । अर्काेतर्फ, ४५ प्रतिशत पुरुष अर्थात ४७३ जनामा प्रोस्टेटको समस्या देखिएको छ । जसले उहाँहरको दैनिक गुणस्तरीय जीवनमा ह्रास आएको छ ।  ७५ प्रतिशतलाई घरमै हेरचाह सेवा आवश्यक स्वास्थ्य अवस्था र आवश्यक पर्ने स्याहारका आधारमा सर्वेक्षणले नागरिकहरूलाई तीन प्रमुख श्रेणीमा विभाजन गरेको छ ।  चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्ने ज्येष्ठ नागरिकलाई यल्लो जोनमा राखिएको छ । यो जोनमा २ हजार १३५ जना ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँहरु परिवारसँगै त हुनुहुन्छ । तर, दैनिक रूपमा औषधिको मात्रा मिलाउने, घरमै फिजियोथेरापी गराउने र स्वास्थ्य निगरानी गर्ने दक्ष हेरचाहकर्मीको आवश्यक छ ।  उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रेड जोनमा राखिएको छ । करिब २८५ जना अर्थात १० प्रतिशत ज्येष्ठ नागरिक यस वर्गमा हुनुहुन्छ । उहाँहरुलाई सर्वेक्षणकै क्रममा पनि आकस्मिक उपचारका लागि लगिएको थियो । यसरी उपचार प्रदान गरिएकाहरुमा पक्षघात भएर ओछ्यान परेका, क्याथेटर लगाएका वा नियमित अक्सिजन सपोर्टमा रहनुभएका ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुलाई घरमा राखेर मात्र उपचार सम्भव हुँदैन । विशेषज्ञ डाक्टरको नियमित रेफरल र अस्पतालको पहुँच आवश्यक पर्छ ।  नियमित स्याहार र हेरचाह आवश्यक पर्ने तर स्वास्थ्य जोखिममा नरहनुभएका ज्येष्ठ नागरिकलाई ग्रीन जोनमा राखिएको छ । यस वर्गमा ४२७ जना अर्थात १५ प्रतिशत नागरिक हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य अवस्था स्थिर छ । उहाँहरुले नियमित परीक्षण मात्र गराए पुग्छ ।  सेवा व्यवस्थापनमा बहु-औषधि सेवन र साक्षरता चुनौती  अध्ययनले देखाएको अर्को संवेदनशील पक्ष भनेको नागरिकहरूले सेवन गर्ने औषधिको मात्रा र संख्या हो । तथ्याङ्क अनुसार एकैजना ज्येष्ठ नागरिकले दैनिक औसतमा ५ देखि १५ प्रकारका औषधि सेवन गरिरहनु भएको छ । सर्वेक्षणमा एक ९०  वर्षिय बिरामीले एलोप्याथी र आयुर्वेदिक गरी दैनिक अधिकतम २१ प्रकारका औषधि प्रयोग गरिरहनुभएको पाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं