बागमती नगर जग्गा एकीकरण आयोजनालाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौँ । काठमाडौं महानगरपालिकाले बागमती नगर जग्गा एकीकरण आयोजनालाई सम्पन्न भएका काम, तिनको प्रभाव तथा बाँकी दायित्वसम्बन्धी लाभ–लागत र प्रभाव प्रतिवेदन ४५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको आयोजना व्यवस्थापन उपसमितिको ३३औँ बैठकले अधुरा पूर्वाधार र सेवा प्रवाहका कारण स्थानीयवासीले समस्या भोगिरहेको निष्कर्ष निकाल्दै तथ्यमा आधारित प्रतिवेदन तयार गरी बाँकी काम शीघ्र सम्पन्न गर्ने निर्णय गरेको हो। बैठकमा डंगोलले आयोजना पटक–पटक म्याद थप्नेभन्दा बाँकी काम सम्पन्न गरेर जग्गा सम्बन्धित धनीलाई फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले प्रतिवेदनमा कानुनी, प्रशासनिक र प्राविधिक पक्षसमेत समेट्न निर्देशन दिइन्।
