अरिङ्गालको टोकाइबाट गुल्मीका एक युवाको मृत्यु
गुल्मी। गुल्मीको सत्यवती गाउँपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। सत्यवती गाउँपालिका–५ हमसंराका २२ वर्षीय पूर्ण सिउ थामी मगरको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गएराति मृत्यु भएको हो। गत साउन २ गते राति घरनजिकै रहेको कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले दुवै खुट्टा र दायाँ हातमा टोकेको थियो। टोकाइबाट गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि मिसन अस्पताल, पाल्पा लगिएको थियो। मिसन अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो। त्यहाँ उनको अवस्था गम्भीर भएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा गएराति ११:४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र विश्वकर्माले जानकारी दिए।
