एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गर्दै
काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेश कुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई नगद र जिन्सी हस्तान्तरण गर्ने भएको छ । हस्तान्तरण कार्यक्रम शुक्रबार ललितपुर कुपन्डोलस्थित होटेल हिमालयमा आयोजना गरिएको छ । ‘एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन गराउँदा बचेको ८० लाख बढी रकम र अन्य जिन्सी सामग्री नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न लागेका छौं,’ उच्च स्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले भनिन् । उनले यो कार्यक्रमले एनआरएनएको एकता र पारदर्शितालाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गरिन् । सर्वोच्च अदालतको २० चैत २०८० को फैसलाअनुसार एनआरएनएमा देखिएको लामो समयदेखिको विवाद समाधान गर्न संघका पूर्व अध्यक्ष शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको थियो । सर्वोच्चको निर्देशनअनुसार समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिइएको थियो। समितिको पहिलो बैठकले एकता महाधिवेशन काठमाडौँ आयोजना गर्ने निर्णय गरेको थियो । गत बैशाख २०–२१ (मे ३–४, २०२५) मा काठमाडौंको हायात होटेलमा आयोजित एकता महाधिवेशनले सन् २०२५–२०२७ कार्यकालका लागि महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।
