SHARE
Samata Press · सोमबार २९ असार २०८३ १०:३२ PM · 1 मिनेट पढाइ

ऊर्जामन्त्रीलाई इप्पानका अध्यक्ष डाँगीले भने- सरकारले सहयोग गरे ३० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्छौँ

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले सरकारले सहयोग गरेर आफूहरू निजी क्षेत्रबाट मात्रै आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्षम रहेको बताएका छन्।  सोमबार मन्त्रालयमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग भएको भेटमा अध्यक्ष डाँगीले त्यसका लागि सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्ने माग गरे।  उनले विद्युत् खरिद सम्झौता (पीपीए) मा भइरहेको ढिलाइ, प्रसारण पूर्वाधारको अभाव, अन्तिम व्यापारिक मिति (आरसीओडी) नथपिने व्यवस्था, अनुमतिपत्र खारेजी लगायतका विषयले लगानीकर्तामा अन्योल सिर्जना गरेको भन्दै सरकारसँग उच्चस्तरीय संयन्त्रमार्फत समग्र समस्या समाधान गर्न आग्रह गरे।  अध्यक्ष डाँगीले पीपीए नभएसम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्भव नहुने र त्यसकै आधारमा अनुमतिपत्र खारेज गर्ने अभ्यासले लगानी वातावरण प्रभावित भएको उल्लेख गरे। उत्पादन नै सुरु नगरी आईपीओ तथा हकप्रद सेयर जारी गर्ने विकृत प्रवृत्तिलाई निरुत्साहित गर्न इप्पान स्वयं प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।