SHARE
Samata Press · सोमबार २९ असार २०८३ १०:४१ PM · 1 मिनेट पढाइ

इतिहास बुझाउन सन्धिखर्कमा राजाहरुको शालिक निर्माण

अर्घाखाँची। अर्घा र खाँचीका तत्कालीन राजाहरूले सन्धि गरेको ऐतिहासिक स्थलका रूपमा परिचित सन्धिखर्कमा दुवै राजाको शालिक स्थापना गरिएको छ।  इतिहास संरक्षण, स्थानीय पहिचान प्रवर्द्धन तथा नयाँ पुस्तालाई जिल्लाको गौरवशाली इतिहाससँग परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको हो। लुम्बिनी प्रदेश सरकारको ८ लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त शालिकले सन्धिखर्कको ऐतिहासिक महत्त्वलाई थप उजागर गरेको छ। शालिक स्थापना भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई अर्घाखाँचीको इतिहास बुझ्न सहज हुने विश्वास गरिएको छ। सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको शालिकले जिल्लाको ऐतिहासिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।  उनले इतिहास केवल पुस्तकमा सीमित नभई भावी पुस्ताले प्रत्यक्ष देख्न, बुझ्न र सिक्न सक्ने वातावरण सिर्जना गर्न यस्ता संरचनाको आवश्यकता रहेको उल्लेख गरे। सन्धिखर्क नगरपालिका–१ का वडाध्यक्ष माधव श्रेष्ठले अर्घा र खाँची राज्यबीच भएको ऐतिहासिक सन्धिको स्मरण गराउने यो शालिकले सन्धिखर्कको पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार धेरै नयाँ पुस्ताले जिल्लाको नाम कसरी रहन गयो र सन्धिखर्कको ऐतिहासिक पृष्ठभूमि के हो भन्ने विषयमा पर्याप्त जानकारी पाएका छैनन्। शालिक स्थापना भएपछि उनीहरूलाई स्थानीय इतिहास बुझ्न सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुरा बहादुर केसीले जिल्लाभित्र रहेका अन्य ऐतिहासिक महत्वका स्थानहरूलाई समेत संरक्षण र प्रवर्द्धन गर्ने योजना रहेको बताए। उनले इतिहास झल्किने स्थानहरूमा क्रमशः शालिक, स्मारक तथा सूचना सामग्री स्थापना गर्दै जिल्लाको सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणलाई निरन्तरता दिइने जानकारी दिए। स्थानीयवासीका अनुसार अर्घा र खाँची राज्यबीच भएको सन्धिका कारण नै यस क्षेत्रको नाम "सन्धिखर्क" रहन गएको ऐतिहासिक मान्यता रहेको छ। यही इतिहासलाई जीवन्त राख्न शालिक स्थापना गरिएको भन्दै स्थानीयले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्। शालिक स्थापना भएसँगै सन्धिखर्क आउने आन्तरिक तथा बाह्य पर्यटकले जिल्लाको ऐतिहासिक विरासतबारे प्रत्यक्ष जानकारी लिन सक्ने वातावरण बनेको छ। स्थानीय सरकारले पनि यस्ता ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमार्फत जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा थप स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।